अन्तराष्ट्रिय श्रमिक दिवस (MAY DAY-2026) बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न
अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२६ (MAY DAY 2026) को अवसरमा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) र अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) को संयुक्त आयोजनामा देशभर विविध कार्यक्रमहरू सम्पन्न भयो।
यस अवसरमा देशका प्रमुख शहरहरूमा सभा, सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरियो। श्रमिक अधिकार, सामाजिक सुरक्षा तथा ट्रेड युनियन आन्दोलनको सुदृढीकरणका विषयमा छलफल गर्दै श्रमिकहरूलाई सचेत र संगठित बनाउने प्रयास भयो ।
राजधानी काठमाडौंमा विशेष र्याली आयोजना गरिएको थियो, जसमा विभिन्न पेशा र क्षेत्रका श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। र्याली शहरका विभिन्न स्थान परिक्रमा गर्दै राष्ट्रिय सभा गृह पुगेर समापन भएको थियो। त्यसपछि त्यहीँ अन्तर्राष्ट्रिय मजदुर दिवस विशेष कार्यक्रम सम्पन्न गरिएको थियो।



कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले श्रमिकहरूलाई एकताबद्ध भई आफ्नो हक–अधिकारका लागि संगठित रूपमा संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो। उहाँले वर्तमान सरकार श्रमिकको पक्षमा नदेखिएको टिप्पणी गर्दै आगामी दिनमा ट्रेड युनियन आन्दोलनमा आउन सक्ने चुनौतीहरूसँग सामना गर्न श्रमिकहरू तयार रहनुपर्ने बताउनु भयो। साथै, नेपाली कम्युनिष्ट पार्टी सधैं श्रमिकहरूको पक्षमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।
कार्यक्रमको सञ्चालन एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) का अध्यक्ष विष्णु लम्सालले गर्नु भएको थियो भने अध्यक्षता अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) का अध्यक्ष जगत सिंखडाले गर्नु भएको थियो।